वेबटिभी खबर
मकवानपुर । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेंगु संक्रमित फेला परेका छन ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेंगी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
उनका अनुसार तीमध्ये हेटौँडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेंगु संक्रमित फेला परेका छन । डेंगु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेंगु सङ्क्रमित भएका थिए । गर्मी मौसम सुरु भएसँगै डेंगु सङ्क्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रमुख मिजारको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij