वेबटिभी खबर
काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आज दायर गरेको रिट निवेदनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ । उक्त विवादको सुनुवाइ सोमबार हुनेछ ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न यही वैशाख २ गतेसम्म समय दिएका थिए ।
नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित यही वैशाख १ गते दाबी पेस गरेका थिए ।
नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थियो । दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले यही वैशाख ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै थप दुई दिन समय दिएको थियो ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सोडारीले नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता लिएर गत वैशाख ६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नाउपा (कैलाश चौधरी पक्ष)समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे ।
प्रदेश प्रमुखले त्यही दिन सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नु गैरकानुनी भएको रिट निवेदनमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij