Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

  • 131
    SHARES
  • विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

    बाग्लुङ । विद्यार्थी संख्या नपुगेका ३१ सामुदायिक विद्यालयको तह घटाइएको छ । बाग्लुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको विद्यालय र ‘बिग विद्यालय’को अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्यालयको हाल भइरहेको कक्षाको तह घटाएको छ ।

    विद्यार्थी अभाव झेल्दै आएका प्राथमिक विद्यालय र आधारभूत विद्यालयमा तह घटाइएको छ भने दुई विद्यालय तत्कालका लागि बन्द गरिएको छ । बन्द हुने विद्यालयमा बाग्लुङ नगरपालिका–९ तित्याङका रानेभूमि प्रावि र सरस्वती प्रावि  छन् ।

    विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको संख्या घट्ने अवस्थामा विद्यार्थीको संख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने विद्यार्थी संख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले बाग्लुङ नगरपालिकाले ३१ विद्यालयको तह मिलान गरी घटाइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

    नगरपालिकाले दुई वर्षसम्म गरेको विद्यालयको अध्ययनअनुसार विद्यालय तह मिलान कार्यविधिअन्तर्गत रही तह मिलान गरिएको श्रेष्ठको भनाइ छ ।

    ‘१३औँ नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरेको हो’, नगरप्रमुख श्रेष्ठले भने, ‘तह घटाउँदा एक घण्टा हिँड्नुपर्ने अवस्थाका विद्यालयलाई असर पारिएको छैन, न्यून विद्यार्थी भई घर नजिकै वैकल्पिक विद्यालय भएका विद्यालय छनोट गरेर तह घटाइएको छ, तह घटाउँदा धेरै हुन आएका शिक्षकलाई विद्यार्थी संख्याको अनुपातमा दरबन्दी मिलान गरिन्छ ।’

    तह घटाइएपछि बालविकास केन्द्र सञ्चालन हुने विद्यालयको संख्या आठ, बालविकास केन्द्र र कक्षा एकमात्र सञ्चालन हुने विद्यालय ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ कक्षासम्म सञ्चालन हुने छ ।

    नगरपालिकाले विद्यालयमा गरेको लगानी बालुवामा पानी भएको भन्दै विद्यार्थी भएको विद्यालयमा मात्रै भौतिक पूर्वाधार, प्रविधि र अङ्ग्रेजीमा पठनपाठन गराउनेगरी तह मिलान गर्न थालेको नगरउपप्रमुख राजु खड्काले बताए ।

    खड्काका अनुसार जनसंख्या बढ्दा आवश्यकता देखिएर समुदायस्तरको पहलमा खोलिएका विद्यालयमा क्रमशः घट्दो जनसंख्या, बसाइँसराइ, संस्थागत विद्यालयमा आकर्षणजस्ता कारण विद्यालयमा विद्यार्थीको संख्या अपुग हुन थालेपछि विद्यालय घटाउन थालिएको हो ।

    नगरपालिकाले टाढाका विद्यार्थीलाई आवासीयसहितको विद्यालय बनाउने र गुणस्तरी शिक्षामा जोड दिनका लागि एकीकृत विद्यालयको अवधारणा ल्याइएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिए ।

    ‘कतै शिक्षकले विद्यालय कुर्नुपर्ने त कतै विद्यार्थीले शिक्षक नपाउने अवस्था हाम्रो नगरमा आयो, एक हजार तीन सय विद्यार्थी भएको विद्यालय, जिल्लाकै नमूना विद्यालय हाम्रै नगरभित्र छन्, तर एक–दुई विद्यार्थी पढाएर शिक्षक बस्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक छ, त्यहाँका विद्यार्थीलाई आवासीयसहितको सुविधा दिन सकिन्छ’, पोख्रेलले भने ।

    विद्यालय स्थगन र तह मिलानपछि धेरै हुन आउने शिक्षकलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा व्यवस्थापन गरिने छ । नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाइबाट बञ्चित हुने बालबालिकालाई आवश्यक वैकल्पिक व्यवस्था मिलाइएको छ ।

    नगरपालिकाले स्थगन भएका विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास कक्षा आवश्यक रहेसम्म कायम राखिने, स्थगन भएका विद्यालयमा दोब्बर संख्यामा विद्यार्थी उपलब्ध भए पुनः विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ । 

    स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्राबास, पुस्तकालय, सामुदायिक सिकाइ तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याइने छ ।

    अनुगमन समितिले तय गरेको मापदण्डबमोजिम विद्यालय स्थगन भई विद्यार्थी जाने विद्यालयका लागि बढीमा रु दुई लाख र तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा बढीमा रु २५ हजारका दरले एकपटकका लागि अनुदान दिइने छ । 

    यस्तै नगरपालिकाले नेपाल सरकारले दिवाखाजाका लागि दिने १५ मा नगरले पाँच थप अनुदान निकासा दिइने छ ।

    यसो गर्दा दिवाखाजामा मात्रै नगरपालिकाको वार्षिक ५० लाख अतिरिक्त खर्च हुनेछ । नगरपालिकाले शिक्षामा गुणस्तर बढाई संस्थागतभन्दा अब्बल विद्यार्थी बनाउन शैक्षिक सुधारको रणनीति ल्याएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij