वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा संघीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन ।
संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आज आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रियामा उनले समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिन नहुने बताए ।
अध्यक्ष दाहालले आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिएका थिए । ‘अहिले कानुन निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ’, अध्यक्ष दाहालले भने, ‘नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ ।’
नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै उनले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रम सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कानुन निर्माणका विभिन्न चरणबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो । अभिमुखीकरणमा विधेयक निर्माण प्रक्रिया, विधेयकको संसदीय चरण, संशोधन प्रक्रिया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए ।
राष्ट्रिय सभाका समिति र निगरानीसम्बन्धी कार्यका बारेमा राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारी, संघीयता, संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय संघीयताबारे राष्ट्रिय सभाका पूर्वसदस्य डा.खिमलाल देवकोटाले प्रस्तुति दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij