वेबटिभी खबर
उदयपुर । गएराति हावाहुरीसहित आएको वर्षाको कारण भर्खर फल लाग्दै गरेको लिची र आँपमा क्षति पुगेको छ ।
गएराति साँझदेखि रातको १२ बजेसम्म वर्षासँगै आएको हावाहुरीको कारण भर्खर फल लाग्दै गरेको किसानको आँप र लिचीमा सामान्य क्षति भएको किसनले बताएका छन ।
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, मोथ्याई, चौदण्डी गढी नगरपालिकाको हाँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको पुरनदह, भागलपुरसहित आम्बासी क्षेत्रका आँप तथा लिचीमा सामान्य क्षति भएको किसानको भनाइ छ ।
त्रियुवा–१ जोगिदहका किसान देबलाल चौधरीका अनुसार गएराति ८ बजेदेखि ११ बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण आफ्नो बगैंचाको लिची र आँपका साना फल झरेको छ । ‘अचानक आएको हावाहुरीका कारण आँप र लिचीका फलमा झण्डै १० प्रतिशत जति क्षति भएको छ’, किसान चौधरीले भने ।
बेलका नगरपालिकाको भागलपुर र आम्बासी क्षेत्रमा समेत हावाहुरीको कारण फलफुलमा सामान्य क्षति भएको आम्बासीका किसान नरेन्द्र खड्काले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij