वेबटिभी खबर
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच वटा पालिका क्षेत्रमा आज बेलुका ५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
दुई समुहबीच झडप भएपछि शान्ति सुरक्षा कायम गर्न प्रहरीले दर्जनौँ राउन्ड गोलीसमेत चलाउनु परेको थियो । प्रहरीले बल प्रयोग गर्दासमेत् स्थिति नियन्त्रणमा आउन नसकेपछि मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाका वडा नं १ र ७ मा अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरिएको थियो ।
त्यसको केही समयपछि नै साँझ ५ बजेदेखि लागू हुनेगरि कर्फ्यु आदेश जारी गरिएको हो ।
कर्फ्युको समयमा पनि पूर्व पश्चिम राजमार्गमा गुड्ने लामो दूरीका यात्रुबाहक तथा मालबाहक सवारीलाई भने निगरानीमा आउजाउ गर्न दिने आदेशमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij