वेबटिभी खबर
चण्डीगढ । भारतको पंजाब र हरियाणा उच्च अदालत घरबाट भागेर विवाह गर्ने प्रेम जोडीका लागि सुरक्षित स्थान बनेकाे छ । त्यहाँ प्रत्येक दिन दुवै राज्यमा घरबाट भागेका करिब १०० जोडीहरु आफ्नो परिवारबाट सुरक्षाका लागि गुहार माग्न जान्छन् ।
घरबाट भागेका प्रेमी जोडीका आवश्यकता पूरा गर्नका बाहिरी क्षेत्रमा कैयौं विवाहका पसलहरु छन् । ती पसलमा विवाहसँग सम्बन्धित सामान, विवाह गराउने पण्डित, विवाह प्रमाणपत्र, तस्बिर र उच्च अदालत लैजाने वकिलसम्म पाइन्छ । यी पसलको व्यापार हालका दिनमा निकै फस्टाएको छ ।
भागेर त्यहाँ पुगेका जोडीको मुख्य उद्देश्य मन्दिर वा गुरुद्वारमा विवाह गरेको प्रमाणपत्र अदालतमा देखाएर परिवारले पुर्याउन सक्ने हानीबाट सुरक्षा र स्वतन्त्रताका लागि निवेदन दर्ता गर्ने हुन्छ । ठूलो संख्यामा यस्ता विवाहको पसल प्रसिद्ध माता मनसादेवी मन्दिर जाने सडकको छेउछाउमा छन् । यी पसलहरुले युवाहरुलाई विवाहसम्बन्धी हरेक किसिमका सेवा दिन्छन् ।
यस्तो सेवामा धर्म, जाति, गोत्रसम्बन्धी कुनै सीमा तथा निषेध छैन । भागेका जोडीलाई निशुल्क होटल वा सेल्टर होम उपलब्ध गराइन्छ । अदालतबाट फैसला नआउँदासम्म उनीहरु त्यहीँ बस्न पाउँछन् ।
टाइम्स अफ इन्डियाले त्यस क्षेत्रमा रिपोर्टिङ गर्दा मनसा देवी मन्दिरको प्रवेशद्वारसम्म पूरा क्षेत्रमा यस्ता धेरै पसल रहेको पाएको छ । ती पसलको बाहिर राखिएका बोर्डमा ‘युवा जोडीका लागि विवाह प्रमाणपत्रसहित विवाह सम्पन्न गराउने’ बारे लेखिएको छ ।
पसलहरुमा कपडा, बेहुलीका लागि मेकअप, फोटोग्राफ, वकिल सबैको सुविधा हुन्छ । विवाह सम्पन्न भइसकेपछि सबै कपडा र गहना पसललाई नै फिर्ता गर्नुपर्छ । यी प्रेम जोडीका लागि आर्थिक क्षमताको हिसाबमा ‘वेडिङ प्याकेज’ बनाइएको छ । ५१ सयको प्याकेजमा प्रमाणपत्र, मंगलसुत्र लगाएको र सात फेरो लिएको तस्बिरसहित विवाह सम्पन्न गराइन्छ भने १६ हजार भारुमा वकिलको शुल्कसहित सबै सामानहरु उपलब्ध हुन्छ ।
यसबाहेक त्यहाँका पण्डितहरु अदालतमा हुने सबै प्रक्रियाबारे राम्रो जानकारी राख्छन् । वैदिक पुजन केन्द्रका पुजारी अखिलेश पाण्डेयले पुजारीहरुले विवाह गराउनेदेखि लिएर कार्डमा जन्मतिथि, विवाह सर्टिफिकेट र उच्च अदालतको आदेशसम्म सबै प्रबन्ध गराउने बताए । घरबाट भागेर विवाह गर्ने जोडीले परिवारबाट सुरक्षा र स्वतन्त्रताका लागि अदालतमा निवेदन दिँदा उनीहरु विवाहित भएको प्रमाण देखाउनुपर्छ ।
यसका लागि ती पसलहरुले सजिलो वातावरण बनाइदिएका भए पनि कानुनविद्हरु व्यापारीहरुले युवालाई ‘आश्वासन’ दिएर शोषण गरिरहेको दाबी गर्छन् । पंजाब–हरियाणा उच्च अदालत क्षेत्रमा यस्ता पसलहरु फस्टाइरहेका छन् ।
उमेर पुगेका युवाको विवाह गराउनु अवैध नभए पनि परम्परा र संस्कृतिलाई व्यवसायिक बनाउनु नैतिक रुपमा गलत भएको कानुनविद् भन्छन् । केही बुद्धिजीवीले पनि विवाहलाई व्यवसायिक बनाउनु अनैतिक भएको बताएकाछन् । उनीहरुले यसलाई युवामाथि भइरहेको शोषण भनेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij