सर्लाही । भारतमा अपराध गरेर मस्ट वान्टेड सूचीमा रहेका दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुई जनाको साथबाट एक थान अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली बरामद भएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले बरहथवा नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । भारतको सितामढी जिल्लाका २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी जिल्लाका २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।
पक्राउ परेका दुबै भारतमा अपराध गरेर मस्ट वान्टेड सूचीमा रहेका पेशेवर क्रिमिनल भएको प्रहरीको भनाइ छ । सोमबार राति सूचनाको आधारमा तलासीका लागि प्रहरी पुग्नासाथ उनीहरुले प्रहरीमाथि गोली चलाएका थिए । एक राउण्ड गोली चलाए पनि प्रहरीतर्फ कुनै क्षति भएन । तत्काल घर घेरा हालेर प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको ज्ञवालीले जानकारी दिए ।
घटनास्थलबाट पेस्तोल र गोलीसँगै एक थान गोली चलाएको खोका बरामद भएको छ ।
पक्राउ गरेर दुबैलाई बरहथवाबाट जिल्ला प्रहरी कार्यालय मलंगवातर्फ ल्याउँदै गर्दा एक जनाले गाडीबाटै भाग्ने प्रयास गरेका थिए । ‘गाडीको पछाडि राखेर कच्ची बाटोबाट ल्याउँद गर्दा जितेन्द्रकुमार भन्ने जीपबाट उफ्रेर भाग्न खोजे,’ ज्ञवालीले भने, ‘उनलाई गोली हानेर नियन्त्रणम लिनु पर्याे । एउटा गोली तिघ्रा र एउटा घुँडा मुनी गोली लागेको छ । उनको उपचार भइरहेको छ ।’
गाडीबाट भागेका जितेन्द्रलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउण्ड गोली चलाएको थियो । पक्राउ परेका दुबैलाई मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । भाग्न खोजेका जितेन्द्रलाई नियन्त्रण्मा लिने क्रममा प्रहरी जवाहरु दीपेश चौहान र रमेश विक घाइते भएका छन् । घाइते प्रहरीको अवस्था सामान्य छ ।
उनीहरु भारतमा दुई वटा कर्तव्य ज्यान, एउटा ज्यान मार्ने उद्योग र लागूपदार्थ मुद्दामा फरार भएको अभियुक्त रहेको प्रहरीले जनाएको छ । भारतमा गरेको अपराध बाहेक नेपालमा पनि कुनै अपराध गरे नगरेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरु नेपालमा बैंक तथा वित्तिय संस्था लुट्ने योजना अन्तर्गत आएको हुनसक्ने बताएको छ ।
नेपालीमा अपराध गर्नकै लागि हातहतियारसहित डेरा लिएको बसेको सहजै अनुमान गर्न सकिने भएको त्यसतर्फ गहन अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । खुँखार भारतीय अपराधी पक्राउ पर्नुले संभावित ठूलो दुर्घटना टरेको स्थानीयले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij