वेबटिभी खबर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) र सरकारबीच आइतबार भेटवार्ता भएको छ । आइतबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतका नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।
सरकारकातर्फबाट प्रधानमन्त्री ओली र नेकपाका तर्फबाट महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच २१ फागुन ०७७ मा ३ बुँदे सहमति भएपछि नेकपा खुला राजनीतिमा आएको थियो । सरकारले उक्त सहमति इमान्दारसाथ कार्यान्वयन नगरेपछि आफूहरूले प्रधानमन्त्रीलाई भेटेर नै सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको प्रकाण्डले बताए ।
नेकपाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन राख्दै प्रधानमन्त्रीसँग भएको भेटवार्तामा उठेका विषय सार्वजनिक गरेका छन् । ‘३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई १० दिनको समय तोकेका छौं,’ पत्रकार सम्मेलनमा प्रकाण्डले भने, ‘कारागारमा रहनुभएका साथीहरुलाई छिट्टै रिहाइ गर्नुपर्ने प्रधानमन्त्रीलाई हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य सरकारले चुकाउनु पर्ने हुन्छ ।’
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक घटनाक्रमका कारण सरकारले समयमा विप्लवको माग सम्बोधन गर्न नसकेको भन्दै अब शंका नगर्न आग्रह गरेको उनले जानकारी दिए । आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै फागुनमा सरकारसँग सहमति गरेर खुला राजनीतिमा आएको र अबको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ कहिले हुन्छ ? भन्ने रहेको स्पष्ट पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij