Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

  • 151
    SHARES
  • अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

    ताप्लेजुङ । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।

    अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन ७० हजारदेखि ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए ।

    ‘सुरुआतमा प्रतिमन ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।’

    अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका-५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ ।

    उनले भने, ‘पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो ।’

    अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । उनले भने, ‘गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन रु ७८ हजारदेखि रु ८० हजारसम्म अलैँची बिक्री गरेका छन् ।’

    अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उहाँको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ ।

    ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # किसान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij