वेबटिभी खबर
काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । खोलुखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घर भन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 'परिवारका सदस्यहरुको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ,' अधिकारीले भने, 'यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ ।' बिहान साढे नौ बजेपछि कोठाभित्र शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसको केही समयपछि विक पनि घर भन्दा केही परको जंगलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घटनाको थप अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij