वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहनेछ ।
पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य थिए । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।
प्रस्तावित विधानमा माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीका बारेमा पनि छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई संक्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवसको स्मरणमा सार्वजनिक बिदा दिए पनि अदालतको आदेशलाई सम्मान गरेको बताए । उनले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको बताए ।
श्रेष्ठले शान्ति प्रक्रियालाई पूरा गरेर आगामी दिनमा थप व्यवस्थितरुपमा दिवस मनाउने विश्वास व्यक्त गरे । जनयुद्ध र जनआन्दोलनको संयोजनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नेपालको शान्ति प्रक्रिया मौलिकरुपमा पूरा भएको उनको कथन थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij