वेबटिभी खबर
टोकियो । आइसक्रिम मन नपर्ने मानिस यो दुनियाँमा कमै होलान् । त्यसमा पनि जापानका मानिसहरुलाई त आइसक्रिम खुबै मनपर्छ । तर जापानमा उपलब्ध आइसक्रिम अन्त पाउनेभन्दा फरक प्रकारको छ ।
अहिले जापानमा तापक्रम बढ्न थालेको छ र मानिसहरू खुशी छन् । किनभने गर्मी बढेसँगै विभिन्न स्वादका आइसक्रीम उपलब्ध हुनेछ । अब सेप्टेम्बरसम्म तापक्रम बढ्दा जापानमा आइसक्रिमको बिक्री पनि बढ्ने छ ।
त्यहाँ सोया ससदेखि लसुन, इल प्रजातिको माछा र शार्क फिनसम्मका स्वादमा आइसक्रिमहरु उपलब्ध छन् । तर नपग्लिने आइसक्रिम जापानी कौशलको एउटा अद्भूत उदाहरण हो ।
जापानमा सबैभन्दा पहिला आइसक्रीम १८७८ मा पुगेको थियो, त्यस समयमा एक विदेशी व्यापारीले योकोहोमामा पहिलोपटक आइसक्रिमको स्वाद जापानीहरुलाई चखाएका थिए । जापानमा त्यसवेला देखि नै आइसक्रिमको चलन सुरु भयो ।
जापानको आइसक्रिमको एक विशाल घरेलु ब्रान्ड छ, जुन हागेन डजजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग कडा प्रतिस्पर्धा गर्छ । यसको रहस्य भनेको घरेलु नयाँ स्वादहरू जुन जापानीहरूले आफैं तयार पारेका छन् । कारण थाहा छैन तर प्रायः यी घरेलु कम्पनीहरू ऐतिहासिक सहर कानाजावामा अवस्थित छन् जसलाई जापानको आइसक्रिम क्यापिटल पनि भनिन्छ ।
कानाजावास्थित यामाटो सोया सस र मेजो कम्पनीका प्रवक्ता इजी ताशिरो भन्छन्, ‘हामी खासमा मसला बनाउने कम्पनी हौं तर १५ वर्षअघि हामीले केही फरक प्रयास गरेका थियौं । जापानी मानिसहरू पारम्परिक चीजहरू सोया र मेइजो मन पराउँछन्, त्यसोभए किन यसलाई आइसक्रिममा राख्ने प्रयास नगर्ने भन्ने सोच्यौं । र यसको नतिजामा सोया ससको स्वादमा भेनिला आइसक्रिम बन्यो ।‘
ताशिरोका अनुसार उनको यो प्रयास निकै सफल भयो । उनी भन्छन्, ‘पहिलोपटक यो आइसक्रिम खाने मानिसले मन नपराउन सक्छन्, यसको स्वाद सोया ससको जस्तो छैन । यसको स्वाद क्यारामेलको जस्तै हुन्छ ।‘
महल र परम्परागत बगैंचाका लागि प्रख्यात उक्त सहरमा पुग्नासाथ कानजावासँगै आइसक्रिम पनि जोडिएर आउँछ । त्यहाँ पाउने आइसक्रिममा स्वर्ण भस्मदेखि लिएर होजिचा ग्रिन टिसम्म राखिएको हुन्छ । राइस वाइनको फ्लेवर पनि कानजावा सहरमा बनाइन्छ । यसमा पानी मिसाएर जमाउँदा बनेको बाक्लो पदार्थ र आइसक्रिममा फरक छुट्याउन मुश्किल पर्यो तर यो पग्लिएको थिएन् ।
सन् २०१७ को अप्रिलमा कानजावा आइसक्रिम कम्पनीले पहिलोपटक फरक फरक आकार र स्वादमा आइसक्रिम बजारमा उपलब्ध गराएको थियो । गर्मी सुरु हुनासाथ टोकियोको सनसाइन सिटीमा एक आइसक्रिम थिम पार्क पनि खोलियो । सो पार्कमा पुरै जापानका आइसक्रिम र कुल्फि बनाउनेहरु आफूले बनाएका स्वादहरु लिएर भेला हुन्छन् ।
त्यहाँ पाइने आइसक्रिम, कुल्फीको स्वाद एकअर्कासँग पूर्णरुपमा भिन्न हुन्छ । जस्तैः दक्षिणी जापानमा घोडाको काँचो मासुको स्वाद, मध्य जापानमा चामलको कुल्फी, नायोगामा चिकेन विंग फ्लेवरका आइसक्रिम बनाइन्छ । योबाहेक जापानभर कतै खुर्सानी राखेका पिरो, गंगटा, झिंगा, भेन्टा, भेली र लसुनको स्वादमा पनि आइसक्रिम पाइन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij