Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चिसोबाट किसानलाई पशु जोगाउन समस्या

चिसोबाट किसानलाई पशु जोगाउन समस्या

  • 141
    SHARES
  • चिसोबाट किसानलाई पशु जोगाउन समस्या

    टीकापुर । गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।

    चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ ।

    ‘एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ’, किसान पर्शु धामीले भने, ‘एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।’

    घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ । जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन् ।

    उनले भने, ‘बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ । तर पनि बचाउन सकिएन । जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ ।’

    उनका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन् । चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताए ।

    उनले भने, ‘चिसोले हामीजस्ता व्यावसायिक रुपमा पशुपालन गर्नेलाई हैरानी भएको छ । मसँग ५० बढी गाईभैँसी छन्, यतिखेर दूध उत्पादन घटेको छ । लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि वृद्धि भइरहेको छैन, जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारामात्र खुवाउनुपर्ने बाध्यता हामीलाई छ ।’

    किसान बटालाका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायतका समस्या हुने गरेका छन् । उनले भने, ‘चिसोले एउटा बाख्रा बिरामी भएर मर्यो । घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ ।’

    मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताए ।

    उनले भने, ‘चिसो मौसम पशुपालनका लागि उपयुक्त समय हैन, यस वर्ष अत्यधिक चिसो भएकाले हामीलाई त हैरानी भएको छ । दिउँसो घाम लागेको भए यति कठिन हुने थिएन, एक महिना पुग्न लाग्यो । पशुले घाम ताप्न पाएका छैनन्, आहारा घटेको छ । चिसोमा पानी कम पिउने हुँदा उनीहरुलाई कुपोषणको समस्या हुन थालेको छ ।’

    टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ । सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ ।

    चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए ।

    उनले भने, ‘हामीले करिब पाँच ठाउँमा रातदिन आगो बालिरेहका छौँ, नत्र पशु जोगाउन सकिँदैन , महायज्ञबाट उठेको रकमबाट गाई बस्ने गोठ निर्माण कार्य पनि सुरु भएको छ । जाडोको समयमा चरनका लागि बाहिर नलगी लामो समयसम्म बाँधेर घाँस खुवाइन्छ ।

    ‘दुधालु गाईबस्तुमा प्रोटिन, ऊर्जा र कुपोषणसम्बन्धी समस्या देखिने जोखिम हुन्छ,’पशु सेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले भने, ‘ चिसोबाट जनावरलाई जोगाउन उचित प्रबन्ध गर्नुपर्छ ।’

    उनले चिसो मौसममा उत्पादनमा ह्रास आउने, पशु बिरामी हुने समस्या हुने भएकाले न्यायो पार्ने, तातोपानी खुवाउने, पोषणयुक्त आहारामा ध्यान दिन सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # चिसो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij