वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए ।
प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो ।
यसरी आवेदन आएका र दक्ष कामदारलाई महानगरले नियमितरूपमा काममा खटाइरहेको प्रमुख राईले जानकारी दिए । अहिले काममा खटाइएका कामदार सम्पदा क्षेत्रको सरसफाइ र सम्पदाकै अन्य कामका लागि खटिएको उनले जानकारी दिए ।
अहिले दैनिक एक सय ५० कामदार महानगरकै विभिन्न काममा खटिएको उनको भनाइ छ । आवेदनमध्ये कुनै सीप नभएकालाई सीप सिकाएरै काममा लगाउने तयारी भइरेको उनले जानकारी दिए ।
उनले भने, ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण र सरसफाइ, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ । बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो ।’
उनका अनुसार महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम, ज्यालादर, कामको प्रकार, फोन नं र श्रमिकको ठेगानालगायतका विवरण उल्लेख गरिएको हुन्छ ।
यसरी सूचीकृत भएका श्रमिकलाई आवश्यकतानुसार जोसुकैले पनि सीप क्षमताका आधारमा काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्न सक्नेछन् ।
चालु आवका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने हुन्छ ।
आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । श्रमिकले फारम भर्दा उक्त फारम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौंमा बसोबास भने भएको हुनुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij