वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहने प्रतिबद्धता जनाएका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले अब ओलीको साथ नछोड्ने बताएका हुन् ।
‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्थेँ । माधवजीहरूले गलत गर्नुभयो । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन,’ गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘अब मैले प्रधानमन्त्रीको साथ छोड्दिनँ । म यहाँबाट खुशी भएर जान्छु ।’
यसअघिका पार्टी बैठकमा गौतम उपस्थित हुने गरेका थिएनन् । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीमा गौतम तटस्थ बसेका थिए ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि ओलीले गरेका एकलौटी निर्णयमा गौतम असन्तुष्ट बनेका थिए । खनाल-नेपाल पक्षले नयाँ पार्टी गठन गरेमा त्यो पार्टीमा आफू लाग्नेसमेत उनले सार्वजनिक रूपमा भनेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij