वेबटिभी खबर
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका-७ बिमकी सात वर्षीया प्रियंका गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
उनले भने, ‘प्रियंकाकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका-७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो । हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।’
चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले जानकारी दिए ।
हजुरआमालाई दरवाङ-मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो ।
प्रियंकाका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।
लुरवाङको माथि जंगलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते हुनुभएको हो । बिम तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।
हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका-७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
उनले भने, ‘एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ । विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्यसहित सबै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौँ ।’
मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij