Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

ओलीले आग्रह गर्दा पनि किन नआउने भए नेपाल ?

ओलीले आग्रह गर्दा पनि किन नआउने भए नेपाल ?

  • 644
    SHARES
  • ओलीले आग्रह गर्दा पनि किन नआउने भए नेपाल ?

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमा बस्दैछ । पार्टीलाई एकढिक्का बनाएर अघि लान वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई समेत संस्थापन पक्षले बैठकमा बोलाएको छ, यद्यपि नेपाल पक्षका कोही पनि नेता उक्त बैठकमा नजाने भएका छन् ।

    एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल दुई पक्षमा विभाजित भएपछि पार्टीलाई सग्लो रुपमा अगाडि बढाउने हो भने २ जेठ ०७५ कै अवस्थामा पुर्याउन नेपाल पक्षको अडान थियो । यसअघि विभिन्न शर्त राख्दै आएको संस्थापनले बुधबार १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक राखेर शुक्रबार केन्द्रीय कमिटीको बैठक राख्ने र बैठकबाट दुवै पक्ष मिलेर जाने निर्णय गरिसकेको छ ।

    तर पनि नेपाल पक्षले शुक्रबार (आज) को बैठकलाई ‘पुरानै ब्रान्डमा नयाँ लेबल टाँसेको’ भन्दै बैठकमा उपस्थित नहुने बताएको छ । एमाले एकताका लागि नेपाललाई दबाब दिन बुधबारको बैठकमा ओलीले नेपाल पक्षका बेदुराम भुसालसहित चार र पूर्वमाओवादीबा एमालेमा रहेका रामबहादुर थापा (बादल) सहित चार नेतालाई स्थायी समितिमा समेटे ।

    नेपाल पक्ष थप रुष्ट बन्ने कारण यही बन्न पुग्यो । शुक्रबार बस्ने बैठकमा नेपाल पक्ष उपस्थित हुन नसक्ने यही कारण प्रमुख बनेको नेपाल पक्षीय स्थायी कमिटीका एक सदस्यले बताए । बुधबारको उक्त बैठकलगत्तै बैठकमा उठेका विषयबारे ब्रिफिङ गर्न ओलीपक्ष र नेपाल पक्षका दोस्रो तहका नेताहरुको भेटवार्ता भएको थियो ।

    सो भेटवार्तामा नेपाल पक्षका नेताले शुक्रबारको बैठकमा उपस्थित हुने बताएको ओली पक्षको दाबी थियो । तर बिहीबार स्थायी कमिटीको बैठक बस्दै शुक्रबारको बैठकमा उपस्थित हुन नसक्ने बताएपछि संस्थापन पक्ष संकटमा परेको छ ।

    नेपाललाई ओलीको फोन  

    केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बिहीबार राति अध्यक्ष ओली र वरिष्ठ नेपालबीच अनौपचारिक संवाद भएको छ । अध्यक्ष ओलीले शुक्रबार बस्ने बैठकमा उपस्थित भएर आफ्नो धारणा राख्दै र पार्टीलाई सुदृढ बनाउन नेपाललाई आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । 

    बुधबार सम्वादमा जुटेका दोस्रो तहका तहका नेताहरूकै आग्रहमा ओली र नेपालबीच संवाद भएको हो । संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका आफूपक्षीय दोस्रो तहका  नेतामार्फत सन्देश पठाउँदै नेपालले केन्द्रीय कमिटी बैठक पर सार्न आग्रह गरेको बुझिएको छ । 

    बैठकको मिति सारेर निकास खोज्न नेपालपक्षीय नेताहरूले संस्थानका नेतामार्फत ओलीलाई सन्देश दिएका छन् । यसैबीच केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले शुक्रबार बस्न लागेको बैठकमा उपस्थित हुन नेपाल पक्षका नेताहरूलाई २ जेठ २०७५ कै हैसियत तोकेर पत्र पठाएका छन् । बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम भने सकारात्मक रहेको बुझिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij