वेबटिभी खबर
चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधी दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधी खानेलाई तीन महिनाको औषधी एकैपटक दिने व्यवस्था गरिएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.श्रीराम तिवारीले स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधी दिने गरिएकोमा पुस ४ गतेदेखि आवश्यकताअनुसार तीन महिनासम्मको औषधी दिने व्यवस्था मिलाइएको बताए ।
डा.तिवारीका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइड जस्ता दीर्घरोगको औषधी नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधी दिँदै आइएकोमा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।
नियमित औषधी सेवन गर्नेले बहिरंग सेवाको टिकट लिएर चिकित्सकलाई देखाएपछि मात्रै औषधी खरिद गर्न पाउने गर्दछन् । यसले अत्यधिक भीड हुने गुनासो आएको थियो । स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ।
अस्पतालमा बिरामीको चाप अत्यधिक भएका कारण बीमाबाट नियमित औषधी लिनुपर्ने बिरामीलाई लक्षित रिफिल काउन्टर सञ्चालन गरिएको डा.तिवारीले जानकारी दिए । रिफिल काउन्टर बिहान ७ देखि १० बजेसम्म खुल्ने मेसु तिवारीको भनाइ छ ।
यसबाट धेरै बिरामी बीमाबाट औषधी लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । अस्पतालले एकपटक सिफारिस भइआएका सेवाग्राहीलाई सोही रोगको फलोअप गर्दा पुनः सिफारिस नचाहिने जानकारी गराएको छ ।
यसअघि पुनः परीक्षणका लागि आउँदा सिफारिस लिएर आउनुपर्ने व्यवस्था थियो । भरतपुर अस्पतालमा दैनिक तीन हजार हाराहारी बिरामी बहिरंग सेवामा आउने गर्दछन् । तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने हुने गरेका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij