वेबटिभी खबर
मकवानपुर । कोदो खेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदो खेती गर्ने किसानको आकर्षण बढेको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन ।
गाउँपालिकाले कोदो प्रतिकिलो ५४, फापरको प्रतिकिलो सय र जुनेलोको प्रतिकिलो ८४ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । त्यसपछि किसानले उत्पादन गरेको कोदो बिक्री गर्न थालेका हुन ।
यही क्रममा मकवानपुरगढी-४ कालीखोलास्थित अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा किसानबाट उत्पादित कोदो खरिद गरी संकलन गर्न सुरु गरेको छ ।
सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकमसमेत थप गरी प्रतिकिलो ६० का दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए ।
कोदो संकलनको पहिलो दिन ११ किसानबाट एक हजार पाँच सय किलोभन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्णबहादुर घलानले बताए । कोदो बिक्री गर्ने किसानमध्ये मकवानपुरगढी-४ का किसान सुकुमबहादुर घलानले सबैभन्दा धेरै पाँच सय किलो कोदो बिक्री गरेका छन ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं-४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमिल्सिनाको उपस्थितिमा कोदो खरिद तथा संकलनको कार्य सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष स्याङ्तानले ८६ वर्षीय किसान वीरबहादुर योञ्जनलाई चेक हस्तान्तरण गरेर कोदो खरिदको कार्य सुरु गरेका थिए ।
अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij