वेबटिभी खबर
काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत आरोपी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेको जिकिर गरेकी छिन् । बबरमहलस्थित आफ्नो घरमा कोठा खोज्न आएकी रुपा सुनारलाई आफूले सामान्य व्यवहार गरे पनि आफूलाई षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै सुनारलगायतलाई कारबाहीको माग गरेकी छिन् ।
बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफूले कुनै प्रकारको विभेद एवम् छुवाछुतको व्यवहार नगरे पनि आफूमाथि षडयन्त्र गरी प्रहरीलाई प्रक्राउन उक्साएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् । उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।
प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरीत भएकोले सुनारमाथि कारबाहीको माग गरेकी छिन् ।
सुनारले आफूमाथि प्रधानले जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि ६ असारमा प्रधानलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारस्थित हिरासतमा राखेको थियो । प्रधानलाई ९ असारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले छुटाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij