Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

७० वर्षको प्रयासपछि चीन मलेरिया मुक्त 

७० वर्षको प्रयासपछि चीन मलेरिया मुक्त 

  • 728
    SHARES
  • ७० वर्षको प्रयासपछि चीन मलेरिया मुक्त 

    बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बुधबार चीनलाई मलेरिया मुक्त घोषणा गरेको छ । चीनमा पछिल्लो ७० वर्षदेखि मलेरिया निर्मूलका लागि प्रयास भइरहेको थियो । डब्ल्युएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रेयससले मलेरियाबाट मुक्त भएका चिनियाँ नागरिकलाई बधाई दिएका छन् । दशकौंदेखि निरन्तर लक्ष्य उन्मुख प्रयासका कारण सफलता पाएको भन्दै उनले चीनको प्रशंसा पनि गरेका छन् ।  

    सन् १९४० को दशकमा चीनमा लगभग प्रत्येक वर्ष ३ करोड व्यक्ति मलेरियाबाट बिरामी हुन्थे । यसपछि सरकारले मलेरिया नियन्त्रण गर्ने प्रयास गर्यो । निरन्तर प्रयासको परिणामस्वरुप मलेरिया स्थायी रुपमा नै घट्न थाले । 

    विश्व स्वास्थ्य संगठनका अनुसार चीनले दशकौं पहिला उच्च जोखिममा रहेका क्षेत्रमा मलेरियाविरुद्धको औषधि वितरण गर्न सुरु गरेको थियो । साथै लामखुट्टेको प्रजनन क्षेत्रलाई व्यवस्थित रुपले कम गर्ने र धेरै मात्रामा नागरिकलाई झुल वितरण गर्ने व्यवस्था गर्यो । 

    मलेरियाका लागि नयाँ उपचार खोज्न सन् १९६७ मा एक वैज्ञानिक कार्यक्रम सुरु गरेर आर्टिमिसिननको अध्ययन सुरु गर्यो । यसपछि सन् १९८० मा मलेरियाबाट बच्न किटनाशक झुलको परीक्षण गर्यो । यी सबै प्रयासपछि सन् १९९० को दशकमा मलेरियाका बिरामी ३ करोडबाट घटेर ११ लाखमा झरे । र मृत्युदर पनि ९५ प्रतिशतले घट्यो । सन् २००३ पछि चीनले मलेरिया नियन्त्रण गर्ने आफ्नो योजना र कार्यक्रमलाई अझ व्यापक बनाउँदै गएपछि मलेरियाका बिरामी वार्षिक ५ हजारमा झरे । 

    लगातार तीन वर्षसम्म मलेरियाको प्रकोप देखिएन भने त्यस्ता मुलुकले मलेरियामुक्त भएको प्रमाणपत्रका लागि डब्ल्युएचओमा आवेदन दिन सक्छन् । यसका साथै भविष्यमा पनि यसको प्रकोप नियन्त्रण गर्न सक्ने क्षमता भएको प्रमाण पनि बुझाउनु पर्ने हुन्छ । 

    चीनमा पनि पछिल्लो चार वर्षमा एउटा पनि मलेरियाका बिरामी नभेटिएपछि गत वर्ष डब्ल्युएचओमा आवेदन दिएको थियो । डब्ल्युएचओका अधिकारीले मलेरिया नियन्त्रण गर्न सक्ने क्षमता कति छ भनेर चीनको भ्रमण गरेपछि प्रकोपमुक्त भएको घोषणा गर्न अनुमति दिएको थियो । 

    विश्वमा मलेरियाको स्थिति 

    मलेरिया लामखुट्टेबाट सर्ने घातक रोग हो । यो एनाफेलिज नामको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डब्ल्युएचओका अनुसार सन् २०१९ मा विश्वभर २२ करोढ ९० लाख मानिस मलेरियाबाट संक्रमित भएका थिए । यीमध्ये ९४ प्रतिशत अफ्रिकामा थिए ।

    अहिलेसम्म विश्वका ४० देश मलेरियामुक्त भएका छन् । पश्चिमी प्रशान्त क्षेत्रमा पछिल्लो ३० वर्षमा मलेरिया मुक्त हुने चीन पहिलो राष्ट्र हो । हालै अल साल्भाडोर, अल्जेरिया, अर्जेन्टिना, पराग्वे र उज्वेकिस्तान पनि मलेरियाको प्रकोपबाट मुक्त भएको घोषित भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij