वेबटिभी खबर
क्यालिफोर्निया । उत्तर अमेरिकामा यतिवेला गर्मीले दिनदिनै बढ्दै गएपछि जनजीवन प्रभावित भएको छ । कतिपय क्षेत्रमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेपछि मौसम विभागले असामान्य र खतरापूर्ण भएको भन्दै चेतावनी दिएको छ । पोर्टल्यान्डको ओरेगनमा आइतबार ४४ दशमलव ४ डिग्री से.सम्म तापक्रम पुगेको थियो ।
यो अमेरिकामा तापक्रम रेकर्ड गर्न थालिएको सन् १९४० यता सबैभन्दा बढी तापक्रम हो । यस्तै, सिएटलमा पनि ४० डिग्रीमाथि पुगेको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार पहिलोपटक लगातार दुई दिनसम्म उच्च तापक्रम मापन गरिएको छ । गर्मीका कारण अमेरिकी ओलम्पिक खेलकुदको छनोट खेलहरु पनि रोकिएका छन् । अस्पतालले आउटडोर खोप केन्द्रहरु बन्द गरेका छन् । बजारमा पोर्टेबल एसी र पंखाको बिक्री बढेको छ ।
उता, युरोपको फ्रान्स, स्पेन, पोर्चुगलमा पनि प्रभाव पारेको लु अहिले बेलायततर्फ बढिरहेको छ । अमेरिका र क्यानडाबाहेक मध्यपूर्वी क्षेत्रमा पनि गर्मी अत्यधिक बढेको छ । कुवेतका दुई वटा सहरमा २४ घण्टामा सबैभन्दा धेरै तापक्रम मापन गरिएको छ ।
कुवेतको मौसम विभागका अनुसार अल जाहरामा आइतबार ५३ डिग्री र अन नुवैसिबमा ५२ डिग्री सेल्सियस तापक्रम पुगेको छ । युनाइटेड अरब इमिरेट्समा पनि ५० डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।
क्यानडामा पनि तापक्रम अहिलेसम्मकै सबैभन्दा धेरै रेकर्ड भएकाे छ । भ्यान्कुभर, ब्रिटिश काेलम्बिया, अल्बेर्टा, मेनिटाेबा क्षेत्रमा ४७ डिग्री सेल्सियससम्म तापक्रम बढेकाे छ । गर्मीका कारण १ सय ३० जना बढीकाे अचानक मृत्यु भएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ ।
क्यानडामा अत्यधिक गर्मीका कारण १३० को मृत्यु
अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij