वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे पछि बस्ने बैठकले पार्टीलाई एकतवद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने एमाले स्रोतले जानकारी दिएको छ ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले २८ फागुनमा केन्द्रीय कमिटी गठन गरी सोही कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाएको थियो । एमालेकै माधव नेपाल पक्ष भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले कमिटी गठन गरेको भन्दै पार्टी बाहिर नै रहेको छ । नेपाल पक्षले पार्टीलाई २ जेठ ०७५ को अवस्थामा फकाउन माग गरेको छ ।
२७ जेठमा सर्वोच्चले एमालेको १० औं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेपछि एमालेले बुधबार अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने भएको हो । केन्द्रीय कमिटी बैठक शुक्रबार बस्नेछ उक्त बैठकमा नेपाल पक्षलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराइने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij