वेबटिभी खबर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए-बद्री केसी समूह)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ ।
शिविरमा भूकम्प पीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधी वितरण र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो ।
सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली काठमाडौंदेखि जाजरकोट पुगेको थियो । स्वास्थ्य शिविरमा आएका भूकम्प पीडितमा प्रमुखरुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका समस्या देखिएका थिए ।
यसअघि समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै ‘स्वास्थ्य सेवा हटलाइन’ सञ्चालनमा ल्याएको थियो । समितिले भूकम्प पीडितलाई समयमा राहत, उद्धार तथा स्वास्थ्योपचार गर्न नसके चिसो बढ्दै गएकाले निमोनिया, रुघाखोकीको जोखिम रहेको जनाएको छ ।
शिविरमा खटिएका स्वास्थ्य विज्ञले सो क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा रहेका जनाएका छन । भूकम्पले घर भत्काउँदाको त्रास, बढ्दै गएको चिसोलगायत कारणले गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारका लागि सहजीकरण गर्न आवश्यक रहेको संघले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij