Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

फूल बिक्री नभएपछि किसान निराश

फूल बिक्री नभएपछि किसान निराश

  • 221
    SHARES
  • फूल बिक्री नभएपछि किसान निराश

    कञ्चनपुर । फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए ।

    उनले भने, ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन । अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन् ।’

    बजारमा प्लाष्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ । अब फूलले बजार पाउने आशा छ ।’

    कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आएका छन् । उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गरेका छन् ।

    उनले भने, ‘फूलको बीउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूलखेती छ । फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ ।’

    उनका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ ।

    उनले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गरेका थिए । फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ ।

    उनले भने, ‘फूल र माला बनाएर बेच्ने गर्छौ, पाँच सय प्रतिकिलो ग्रामका दरले फूल बेच्ने गरेका छौँ । एक सयको फूलमाला बिक्री गर्ने गरेका छौँ ।’ 

    स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ ।

    प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

    दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

    दोस्रो ठूलो चाड तिहारको हर्षोल्लास गाउँसहरमा छाएको छ । घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन् ।

    बारीमा फूल ढकमक्क फुलेका छन् । तिहारमा घर सिंगार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ ।

  • सम्बन्धित विषय:

  • # किसान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij