Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

किसानलाई अलैँची भित्र्याउन चटारो

किसानलाई अलैँची भित्र्याउन चटारो

  • 172
    SHARES
  • किसानलाई अलैँची भित्र्याउन चटारो

    ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।

    ताप्लेजुङमा असोज-मंसिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मंसिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।

    अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका-१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए ।

    अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए । मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका-६ मादिबुङका वसन्त लिम्बूले बताए ।

    तिहार अलैँची बगानमै मनाउने उनको योजना छ । फुङ्लिङ नगरपालिका-६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताए ।

    घरमा बसेर चाडपर्व मनाउन थाल्दा जंगली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताए ।

    अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ-७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची  खेती गर्दै आएका छन् । 

    जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन (४० किलो) खलैँची ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।

    अलैँची बगानमा रोजगारी 

    फुङ्लिङ-७ बिहीबारे क्षेत्रमा रहेको अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छन् । उनी पाथीभरा याङवरक गाउँपालिका-१ नाङखल्याङबाट अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएका छन् ।

    दसैँ सकेलगत्तै राई घरबाट निस्किएका हुन् । बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेको राई साँझमात्र बगानबाट बाहिर निस्किन्छन् ।

    उनी साँझ-बिहानको खाना खाजा पनि अलैँची बगानमै खान्छन् । बिहान र दिनभरि टिपिएको अलैँचीको थुंगा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्छन् ।

    दिनभरि टिपिएको अलैँचीको थुंगा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ । पाथीभरा याङवरक-१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जना घर छाडेर अलैँची टिप्न फुङ्लिङ पुग्नुभएको हो ।

    गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ-६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए ।

    उनी तिहारसम्मै बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त हुनुहुन्छ । देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैँची बगानमा रोजगारी गर्न थाल्नुभएको हो ।

    अलैँचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन रु पाँच सयदेखि सात सयसम्म ज्याला दिने गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij