Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सीमा क्षेत्रका बस्तीमा जंगली हात्तीको त्रास

सीमा क्षेत्रका बस्तीमा जंगली हात्तीको त्रास

  • 182
    SHARES
  • सीमा क्षेत्रका बस्तीमा जंगली हात्तीको त्रास

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जंगली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो ।

    नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जंगली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन ।

    ‘पारी भारतीय जंगलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक दशक भन्दा बढी समय भइसक्यो’, दोधारा चादँनी नगरपालिका–१ का वडाध्यक्ष हरिसिंह धनाडीले भने, ‘अहिलेसम्म हात्तीलाई गाउँ पस्नबाट रोक्न कुनै दीर्घकालीन सामाधानका उपाय खोज्न सकेका छैनौँ ।’

    उनका अनुसार पछिल्लो एक महिनामा मात्रै हात्तीले चार स्थानीयवासीका घर भत्काएका छन् भने धेरै धानबालीमा क्षति पुर्‍याएको छ । जोगबुढा नदी पारीमा बडुवाल टोलमा तीन सय परिवारको बसोबास छ ।

    यहाँ दशकौँदेखि बसोबास रहेपनि स्थानीयले जग्गाको पुर्जा नपाउँदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउँदा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन् ।

    ‘यसअघि हात्तीको आक्रमणबाट स्थानीयवासीले ज्यान गुमाउँदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागे’, वडाध्यक्ष धनाडीले भने, ‘विसं २०२४ देखि सीमामा दुःखसुख गरेर बस्ने नागरिकले जमिनको पुर्जासम्म नपाउनु असह्य पीडाको विषय हो ।’

    भौगोलिक रुपले विकट रहेको उक्त बस्तीमा धान र गहुँ खेतीका बेला हात्तीले क्षति गर्न थालेपछि शसस्त्र प्रहरीको पेसा क्याम्पसमेत राखिएको उनले बताए । ‘वडाबाट पनि हात्ती धपाउन हामीले गाउँमा टर्च, साइरन र बत्तीको व्यवस्था गरेका छौँ’, धनाडीले भने, ‘गाउँ पस्न पल्किसकेका हात्ती नछोड्दो रहेछन् ।’

    उनले भारतबाट आउने जंगली हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा करेन्टसहितको तारजालीको सुरुवात गरिएको भन्दै त्यो पूर्णरुपमा कार्यान्वयनमा नआएको जनाए ।

    ‘यो समयमा यहाँका टोलवासीले राति सुत्नसमेत पाउँदैनन्’, धनाडीले भने, ‘यो समस्या समाधानका लागि प्रदेश सरकारसँग सहयोग मागेका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन्।’

    बडुवाल टोलबाट दोधारा चादँनी नगरपालिकाको कार्यपालिकामा रहेकी लक्ष्मी रानाले हात्तीकै कारण राति सुत्न नपाएको धेरै समय भइसकेको बताइन् । ‘स्थानीयवासीले खेती त लगाउँछन् तर भित्र्याउन नपाएको धेरै वर्ष भइसक्यो’, रानाले भनिन्, ‘जग्गाको पुर्जा नभएकाले राज्यबाट सहयोग पनि पाएका छैनन् ।’

    यहाँका तीन सय घरधुरीमध्ये १०/१२ परिवारसँग मात्रै जमिनको पुर्जा रहेको रानाले जानकारी दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij