वेबटिभी खबर
भक्तपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बाग्मती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताए ।
मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बाग्मती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताए ।
बाग्मती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको बताए ।
मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘प्रदेशको नाम बाग्मती परिवर्तन गरेर नेवा-ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौँडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन, सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर्छ, उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुबै परिवर्तन हुन्छ र त्यो प्रदेशसभाको अधिकार पनि हो ।’
अहिलेको व्यवस्था मन नपराउनेबाट असन्तुष्टिका स्वर आउन सक्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । बाग्मती प्रदेशले नेवार र तामाङ समुदायको भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐन पारित गरेको र यसलाई आगामी ६ महिनाभित्र सबै निकायमा कार्यान्वयनमा ल्याउने उनले बताए ।
अहिलेनै सरकारी निकाय र स्थानीय तहलाई कुनै पनि सूचना जारी गर्दा, साइनबोर्ड राख्दा नेपालीसहित नेपाल भाषा र तामाङ भाषामा समेतको प्रयोग गर्न निर्देशन दिइसकेको, सरकारी कार्यालयमा यी तीन वटै भाषाको निवेदन लिन पनि निर्देशन दिइसकेको मुख्यमन्त्री जम्मकट्टेललको भनाइ छ ।
प्रदेशसभाले स्वास्थ्य ऐन पारित नुहँदा धेरै स्वास्थ्य संस्था नवीकरण हुन नसकेको भन्दै हिउँदे अधिवेशनले ऐन पारित गर्ने उनले बताए ।
कार्यक्रममा पूर्वमन्त्री शशी श्रेष्ठले आफू मन्त्री हुँदा ५५ हजार स्ववासीलाई लालपुर्जा प्रदान गरेको बताउँदै जनताको समस्यालाई आफ्नो समस्या सम्झेर काम गर्नुपर्ने बताए ।
माओवादी केन्द्र मध्यपुर नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठ, माओवादीका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दीलीपकुमार प्रजापति, बाग्मती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले भक्तपुरको विकासमा प्रदेश सरकारको चासो वृद्धि गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री जम्मकट्टेल, पूर्वमन्त्री श्रेष्ठसहित मध्यपुरथिमिको पहिचानका लागि मूत तथा अमूर्त कला, संस्कृतिको संरक्षणमा लाग्ने विभिन्न व्यक्तित्व एवं संस्थालाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij