वेबटिभी खबर
बाँके । रोजगारीका लागि भारतको विभिन्न शहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाह नाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो ।
दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली दाजुभाइ जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको जमुनाह इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले जानकारी दिए ।
‘केही दिनयता भारतमा काम गरी घर फर्किने नेपालीहरूको संख्या ह्वात्तै बढेको छ’, नायब निरीक्षक विष्टले भने, ‘बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’
जमुनाह नाकामा भेटिउका जाजरकोट बारेकोट गाउँपालिकाका भीमबहादुर गिरीले भारतको सिमलामा रोजगारी गरेर दसैँ मनाउन घर फर्किएको बताए । गत वर्ष दसैँ तिहार मनाएर मंसिरमा रोजगारीका लागि सिमला पुगेका उनले घरपरिवारलाई लत्ताकपडा र दसैँ खर्च लिएर घर फर्किएको जानकारी दिए ।
धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्चको जोहो गरेको गिरीको भनाइ थियो । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमाननाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।
सल्यानको शारदा नगरपालिकाको हिउल्चा गाउँका भरत विकले वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए । भरतकै सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन ।
पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन ।
दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाटका घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनका अनुसार भारतबाट घर फर्किने नेपालीलाई लक्ष्य गरी जमुनाहनाकामा नेपाल प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ ।
आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij