वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०२३ को सेप्टेम्बरसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।
मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन ।
महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले डेंगु संक्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन ।
हालसम्म कूल संक्रमित संख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) संक्रमित भएका छन् भने सबैभन्दा कम प्रदेश कर्णालीमा एक सय २८ (शुन्य दशमलव ३ प्रतिशत) छन ।
त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० (एक दशमलव छ), बाग्मती प्रदेशमा चार हजार आठ सय ८३ (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० (दुई दशमलव आठ प्रतिशत) संक्रमित देखिएका छन ।
जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ (४२ दशमलव तीन प्रतिशत) संक्रमित भएका छन । तनहुँमा चार हजार छ सय ५१ (१२ दशमलव दुई प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ (नौ दशमलव ४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० (आठ दशमलव दुई प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ (छ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ (तीन दशमलव नौ प्रतिशत), र काठमाडौंमा आठ सय दुई (दुई दशमलव एक प्रतिशत) संक्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ (१५ दशमलव नौ प्रतिशत) डेंगुबाट संक्रमित भएका छन ।
अगष्टमा मात्र कुल संक्रमितको संख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना संक्रमित भएका छन ।
गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा संक्रमण देखिएको थियो । यो रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।
महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेंगु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij