याङगुन । म्यान्मारमा बुधबार एकै दिनमा ३८ प्रदर्शनकारीको मृत्यु पछि पनि बिहीबार पुनः भारी संख्यामा प्रदर्शनकारी सडकमा आएका छन् । देशको सबैभन्दा ठूलो सहर याङ्गुनमा प्रदर्शनकारीले टायर, कांटीयुक्त तारको ब्यारिकेड बनाएका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउन अश्रु ग्यास र गोली प्रहार गरेको छ । हालसम्म हताहत भएको कुनै खबर आएको छैन ।
प्रत्यक्षदर्शीका अनुसार याङगुनबाहेक केन्द्रीय सहर मोन्यावामा, याङगुनको पश्चिममा पर्ने पाथेन सहरमा पनि प्रहरीले गोली चलाएको छ । सामाजिक कार्यकर्ता माउङ साउङले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘हामीलाई गोली लाग्न सक्छ र हामी मारिन सक्छौं भन्ने थाहा छ, तर यसको अर्थ हामी सैन्य शासन स्वीकार गर्छौं भन्ने होइन ।’
बुधबार भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली प्रहार गर्दा कम्तिमा ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले यसलाई ‘रक्तपातपूर्ण दिन’ भनेर निन्दा गरेको छ । राष्ट्र संघले सुरक्षाबलले प्रदर्शनकारीमाथि लाइभ गोलीको प्रयोग गरेको हुन सक्ने बताएको छ । राष्ट्र संघको सुरक्षा परिषदमा म्यान्मारको राजनीतिक संकट र हिंसाजन्य वातावरणका बारेमा शुक्रबार छलफल हुनेछ ।
म्यान्मारमा सेनाले सत्ता कब्जामा लिएपछि एक महिनादेखि लगातार आन्दोलन भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij