वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उहाँ गएराति दोहा प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली सङ्घ संस्था एवं नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्याबारे जानकारी लिने, राजदूतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्नाका साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने तय भएको छ ।
यसैगरी अध्यक्ष लिङदेन नेतृत्वको कतार भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीका केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन् । अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको सो पार्टीले जनाएको छ । उनी यही असोज १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij