वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मूल नीति रहेको बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनले आज आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यक्रममा उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल नीति भएको बताएका हुन् ।
संविधान, कानूनअनुसार काम गरेमा आफैँ सुशासन कायम हुने उनको भनाइ छ ।
मुलुकको विकासका लागि सत्तापक्ष वा प्रतिपक्ष सबै मिल्नुपर्ने उल्लेख गर्दै उनले देशको विकास गर्नका लागि एकताबद्ध भएर लाग्न आग्रह गरे ।
उनले भने, ‘मुलुकमा सुशासन कायम गर्नका लागि कानून र प्रमाणका आधारमा दोषी देखिएमा कसैलाई छाडिँदैन । जुनसुकै पार्टीमा आबद्ध व्यक्ति भए पनि छाडिँदैन ।’
विकासको मोडल जनमुखी हुनपर्नेमा जोड दिँदै उनले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योगधन्दा खोल्ने खालको वातारण हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बुद्धिजीवी फ्र्याक्सन इन्चार्ज खिमलाल देवकोटाले ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त सेवा सुविधामा जनताको समान पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गनुपर्नेलगायत रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij