काठमाडौं । दक्षिण अफ्रिकामा अधिकारीले त्यहाँकी एक महिलाले एकैपटक १० सन्तान जन्माएको दाबी झुटो भएको बताएका छन् । गोटेङ प्रान्तभरका अस्पतालमा कुनै पनि महिलाले त्यति संख्या बच्चा जन्माएको रेकर्ड नभएको पाइएपछि उक्त खबर झुटो भएको बताइएको हो ।
गोसेम थमारा सिथोले नाम गरेकी ३७ वर्षीया महिला गर्भवतीसमेत नभएको ती अधिकारीले बताएका छन् । सिथोलेलाई मानसिक स्वास्थ्य ऐन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ। के कारणले उनीहरु झुटो खबर फैलाए भनेर कुनै जानकारी दिएका छैनन । तर सबैभन्दा पहिलो यो समाचार प्रकाशित गर्ने प्रिटोरिया न्युजको कम्पनी इन्डिपेन्डटेन्ड अनलाइनले उक्त खबर सही रहेको भनेको छ ।
कम्पनीले सिथोलेले राजधानी प्रिटोरियाको स्टिभ बिको एकेडेमिक अस्पतालमा ७ जुनमा १० बच्चालाई जन्म दिएकी तर अस्पतालमा यति धेरै बच्चाका लागि एकैसाथ डेलिभरीका लागि पर्याप्त तयारी नभएको दाबी गरिरहेको छ । प्रान्तीय स्वास्थ्य अधिकारीले मेडिकल लापरवाहीलाई ढाकछोपप गर्न खोजेको आरोप पनि प्रिटोरिया न्युजले लगाएको छ । तर सरकारी अधिकारीहरु उक्त समाचार संस्थाले यसलाई अस्वीकार गरेका छन् ।
प्रान्तीय अधिकारीले विज्ञप्ति जारी गर्दै समाचार संस्थाले लगाएको आरोप गलत र निराधार भएको बताए । यसले अस्पताल र प्रान्तीय सरकारको प्रतिष्ठा बिगार्ने प्रयास गरिएको विज्ञप्तिमा भनिएको छ ।