वेबटिभी खबर
गल्याङ । कालीगण्डकी नदीबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुंगा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको
ट्रयाक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए ।
कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी गर्न अदालतले रोक लगाएको छ ।
स्थानीयको प्रयासपछि ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले ट्र्याक्टरलाई गल्याङ नगरपालिकाको जिम्मा लगाएको छ ।
नगरपालिकाको राजस्व कार्यालयले नियमानुसारको जरिवाना भन्दै १० हजार लिएर ट्र्याक्टरलाई छोडिदिएको छ । गल्याङ नगरपालिका–११ का वडासदस्य प्रकाश भट्टराईले कालीगण्डकी नदीको पटकपटक दोहन हुने गरेको बताए ।
उनले अवैधरूपमा लोड गरी ल्याएका ढुंगा, गिट्टी र बालुवा समात्न खोजे पनि असफल भएको बताए । उनले भने, ‘धेरैपटक म र प्रहरीसँगै घटनास्थलमा गएको छु तर प्रमाण पुष्टि हुन नसक्दा समात्न सकेनौँ । यो पटक भने ढुंगासहितको ट्र्याक्टर समातेर प्रहरीको जिम्मा लगाउन सफल भयौँ ।’
वडासदस्य भट्टराईले कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाइएकाले चोरी निकासी हुनु राज्यविरुद्धको गतिविधि भएको दाबी गरे ।
उनले यस क्षेत्रमा यस्ता गतिविधि पटकपटक हुने गरेको भन्दै नगरपालिका चनाखो भएर अवैध गतिविधि रोक्न लाग्नुपर्नेमा जोड दिए ।
टेण्डर प्रक्रिया नगरी नगरपालिका र विभिन्न ठेकेदार तथा कम्पनीको मिलिमतोमा कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन, चोरी तथा निकासी हुने गरेको कतिपय स्थानीयको आरोप छ ।
उनीहरुले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न ठुलै गिरोह सक्रिय रहेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नसमेत माग गरेका छन् ।
चोरी निकासीमा सक्रिय गिरोहले कालीगण्डकी नदीका ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री निकालेर विभिन्न स्थानका लागि बिक्री गर्ने गरिएको स्थानीयको आशंका छ । बर्खाको बेला कालीगण्डकी नदीको तटमा ढुंगा, गिट्टी र बालुवालगायत निर्माण सामग्री जम्मा हुने गर्दछ । चोरी निकासीमा सक्रिय गिरोहले प्रहरी–प्रशासनलाई छलेर बेलाबेला निर्माण सामग्री उत्खनन गरिरहेका हुन्छन् ।
राम्दी, परेवाकुना, ठूला ढुंगा, एक्किया, छर्ती, जिमुवा काप्चेघाट, हुँगीघाट, बेलचौर, बेल्चौर जामुने, निमाघाट गल्याङ नगरपालिकास्थित कालीगण्डकी नदीका प्रमुख ढुंगा, गिट्टी, बालुवालगायतका सामग्री जम्मा हुने स्थल हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पावलसिंह लामाले १० दिनयता जिल्ला कारागार नजिकै आँधीखोलाबाट अवैधरुपमा लोड गरी ल्याएको ३० बोरा बालुवासहितको बलेरो जिप र पुतलीबजार नजिकै चिहान घाटबाट समेत त्रिपालले ढाकेर बालुवा ल्याउँदै गरेको अवस्थामा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताए ।
उनले भने, ‘अवैध चोरी निकासी नियन्त्रण गर्न साँझपख मोबाइल गाडी खटाएका छौँ । व्यावसायी, ठेकेदार तथा उपभोक्तालाई स्टक प्रमाणित भएका स्थानबाट मात्र ढुंगा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री खरिद बिक्री गर्न आग्रह छ, कोही कसैले अटेर गरी अवैध गतिविधि गरेमा कारबाही गरिने छ ।’
गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले ढुंगा, गिट्टी, बालुवालगायतका सामग्री अवैधरुपमा चोरी निकासी गरेको भेटिएका सबैलाई बिनापूर्वाग्रह कारबाही गरिएको बताए ।
उनले भने, ‘अवैध नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि नगरले योजना बनाउने तयारीमा छ ।
गएका आर्थिक वर्षमा पनि हामीले कारबाही गरेका छौँ, आगामी दिनमा पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने जो कोहीलाई काडाईका साथ कानुनी प्रक्रियामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij