काठमाडौं । गृहमन्त्रालयले प्रहरी मुख्यालयलाई नेत्रविक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको छ ।
सरकारसँग वार्ता भइसकेकाले विप्लव समूहका नेता तथा कार्यकर्तालाई धरपकड नगर्न गृहले प्रहरी मुख्यालयलाई निर्देशन दिएको हो ।
सरकारले मंगलबार दुई सदस्यीय वार्ताटोली गठन गरेर बुधबार र बिहीबार दुई चरणमा वार्ता गरेकाे थियाे । सरकार र विप्लव समूहबीच बिहीबार बिहान तीन बूँदे सहमति भएको छ ।
सहमतीमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने विषय समेटिएकाे छ । सहमतीसँगै भाेलि शुक्रबार विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने तय भएकाे छ । सो समारोहमा एउटै मञ्चबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने छन् ।
सो समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्दा सरकारको दमनकारी नीति देखिने, राज्यसत्ताको शक्तिप्रदर्शन देखिने र सरकारको यस्तो कदम मानव अधिकारका विपक्षमा रहने आशयसहित गृहले प्रहरी महानिरीक्षक शैलेश थापालाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।
सरकारले ०७५ चैत २८ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij