वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकलाई यथाशीघ्र कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्न निर्देशन दिएकी छिन् । कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेमन्त्रालयले कार्यान्वयन गरेको विविध विषयमा राष्ट्रपति भण्डारीले जानकारी लिएकी छन् ।
मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहले आइतबार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपतिलाई मन्त्रालयले चालेका कदमबारे जानकारी गराएका हुन् । मन्त्रालयका तर्फबाट विस्तृत जानकारी प्राप्त भएपछि राष्ट्रपतिले स्वास्थ्यसम्बन्धी हक नागरिकको मौलिक अधिकार भएकाले अहिलेको महामारीको अवस्थामा नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर काम गर्न जोड दिइन् ।
राष्ट्रपति भण्डारीले स्वास्थ्य बहुआयामिक विषय भएकाले मन्त्रालयले शिक्षा¸ खानेपानी तथा सरसफाई¸ वन तथा वातावरण र कृषि लगायत एवम् अन्य सम्वद्ध निकायसँग निरन्तर समन्वय गरी काम गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन् । यसैगरी कोभिड-१९ महामारीसँग जुझ्न खोप एक मात्र विकल्प भएकाले सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने काममा प्राथमिकताका साथ अग्रसर हुन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले नागरिकको गुणस्तरीय स्वास्थ्यसेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्न स्वास्थ्य विमाको प्रावधानलाई सुदृढ गरिनु पर्ने बताउँदै यस विषयमा सरकारले गम्भीरताका साथ अध्ययन गरिरहेको बताए । साथै मन्त्री तामाङले कोभिड-१९ विरुद्धको खोपको पनि यथाशीघ्र व्यवस्था गर्न मन्त्रालय लागिरहेका जानकारी गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij