Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लम्पी स्किन पीडित किसानलाई राहत प्रदान

लम्पी स्किन पीडित किसानलाई राहत प्रदान

  • 214
    SHARES
  • लम्पी स्किन पीडित किसानलाई राहत प्रदान

    काठमाडौं । काभ्रेपलाञ्चोकको स्थानीय तहले लम्पी स्किनबाट पीडित किसानलाई राहत प्रदान गर्न थालेका छन् ।

    नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरका केही वडाले लम्पी स्किन रोगबाट पशुचौपाया क्षति ब्यहोरेका पीडित किसानलाई आर्थिक सहयोग सुरु गरेका हुन् ।

    रोशी गाउँपालिकाको कार्यपालिका बैठकले भैँसी मरेको किसानलाई  सात हजार र गाई मरेको किसानलाई पाँच हजार राहत दिने निर्णय गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराइने छ । चौरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेबापत १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ ।

    यस्तै नमोबुद्ध नगरमा पीडित किसानलाई विपद् व्यवस्थापन राहत वितरणसम्बन्धी मापदण्ड-२०७७ को व्यवस्थाअनुसार राहत व्यवस्था मिलाइएको नगरप्रमुख कुनसाङ लामाले बताए ।

    उनले भने, ‘लम्पीको संक्रमणबाट पशुचौपाया क्षति ब्यहोर्ने किसानलाई नियमित राहत व्यवस्था गर्ने प्रबन्ध मिलाएका छौँ ।’

    नगरको मापदण्डमा घरपालुवा पशु पूर्ण क्षति भएमा भैँसीको हकमा सात हजार, गाई/गोरु क्षति भएमा पाँच हजार र भेडा/बाख्राको हकमा प्रतिगोटा एक हजार राहत उपलब्ध गराइने उल्लेख छ ।

    नगरको पशु सेवा शाखाका अनुसार नमोबुद्धमा ५५ गाई लम्पी स्किनका कारण क्षति भएका छन् । मरेका पशु गाड्न नगरले स्काभेटरसमेत उपलब्ध गराउँदै आएको छ ।

    यस्तै दैनिक पशुहरू मर्न थालेपछि धुलिखेल-२ मा कृषकलाई गाई र बाछाबाछीका लागि अलग अलग राहत दिने निर्णय गरी प्रदान गर्न थालिएको छ ।

    काभ्रेपलाञ्चोकमा २०८० साल वैशाखमा पहिलो पटक यही वडाबाट लम्पी स्किन रोग देखापरेको थियो । हालसम्म उक्त वडामा ६५ गाई मरिसकेको वडाअध्यक्ष अर्जुन न्यौपानेले बताए ।

    न्यौपानेका अनुसार गाई तथा भैँसी मरेकोलाई प्रतिगोटा  १० हजार र चार महिना कटेको कोरली बाच्छी, पाडा तथा पाडी मरेको अवस्थमा पाँच हजार उपलब्ध गराउने निर्णय गरिएको हो ।

    बिरामी गाईको हकमा ५० प्रतिशत औषधिमा अनुदान उपलब्ध गराउँदै आइएको जनाइयो । यसैबीच लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा हाल सप्ताहव्यापी खोप अभियान सञ्चालन भइरहेको छ ।

    जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम सुरु गरेको हो ।

    एक हप्तामा छ तहमा पाँच हजार पाँच सय डोज भ्याक्सिन लगाइने केन्द्रले जनाएको छ । धुलिखेल नगरपालिका, नमोबुद्ध नगर, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा पाँच हजार पाँच सय पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा.नितेश कार्कीले बताए ।

    उनका अनुसार यसअघि जिल्लामा ३६ हजार एक सय तीन पशुलाई संक्रमण हुन नदिन खोप लगाइसकिएको छ ।

    उक्त संक्रमणका कारण जिल्लामा हालसम्म एक हजार दुई सय ७४ वटा पशु मरिसकेका छन् भने २८ हजार ६ सय ५६ वटा पशु सङ्क्रमित भएका छन् ।

    सो रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लामा एक लाख ५१ हजार आठ सय ७३ गाई र एक लाख ४८ हजार ६ सय ४० भैँसी छन् । स्वस्थ सबै पशुमा क्रमशः खोप लगाइने कार्कीले बताए ।

    सो रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोकाहरु देखिन्छ ।

    रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दुध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशुहरु बिरामी हुने गर्छन् ।

    लम्पी स्किन संक्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै वि.सं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो ।

    यो रोगको हालसम्म कुनै ठोस उपचार भने पत्ता लागेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij