वेबटिभी खबर
मकवानपुर । मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुंगा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैँसेमा सुक्खा पहिरोसँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
‘बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो’, प्रवक्ता कार्कीले भने, ‘हेटौंडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्याइएको थियो ।’
नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको कार्कीले बताए । मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका-८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij