वेबटिभी खबर
रौतहट । अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरूमा बाढिमा फसेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिका-४ स्थित लाल बकैया खोलामा फसेका चार जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही नगरपालिका-४ बस्ने ४४ वर्षिय शेख हुसेन, ५९ वर्षिय शेख दाउत र ४५ वर्षिय समसुल शेख घाँस काटी फर्कने क्रममा एक्कासी पानीको वहाव बढि खोलाको किनारमा फसेका थिए ।
सोबारे जानकारी पाउनासाथ सुरक्षा बेश फतुहाबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।
यसैगरी सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको वहाव बढ्न गई अड्किएका १५० जनाको सशस्त्र प्रहरीले साउन २३ गते सकुशल उद्धार गरेको छ ।
घाँस काट्न गएका उनीहरू एक्कासी पानीको वहाव बढ्न गई अड्किएको भन्ने जानकारी पाउनासाथै नं १० गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरि बलक सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
त्यसैगरी डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका-४ पुन्तुरा खोलामा अड्किएका दुई जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही ठाउँ बस्ने १८ वर्षिय महेश भाट र १३ वर्षिय तेज भाट खोला तर्ने क्रममा एक्कासी पानीको वहाव बढ्न गई खोलाको बीच भागमा अड्किएका थिए ।
सो लगत्तै बिओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको डीएसपी थापाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij