वेबटिभी खबर
काभ्रे । काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेंगु संक्रमित पुष्टि भएको जनाएको छ ।
कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक/एक जनामा डेंगुको संक्रमण पुष्टी भएको हो ।
संक्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा.पुरुषोत्तम सेढाइले बताए । उनका अनुसार संक्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन । काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगुबाट संक्रमित भइसकेका छन ।
डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ । हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेंगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij