वेबटिभी खबर
ललितपुर । ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा देखिएको छ । झिंगा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण यहाँ फैलिदै गएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा.निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु संक्रमित भएका छन् । संक्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उनका अनुसार संक्रमण बढ्दो क्रममा रहेको छ ।
केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उहाँले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्घको खोप लगाइसकेको बताइन् ।
गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ संक्रमित संख्या दुई सय ९६ पुगेको छ ।
डा.निशाले भनिन्, ‘उपत्यकामा कूल संक्रमित पशुको संख्या १२ हजार आठ सय ७३ पगेको छ । गाईभैँसी संक्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको संख्या एक सय ७४ पुगेको छ ।’
उपत्यकाभरका १७ हजार नौ सय ८८ गाईभैँसीलाई खोप लगाइसकेको उनले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij