Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

  • 313
    SHARES
  • आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

    झापा । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन ।

    मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रमित पाइएका छन ।

    मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताए । सो अस्पतालमा दैनिक एक हजार दुई सय बिरामी ओपिडी जाँचका लागि जाने गरेका छन ।

    अस्पताल धाउने आँखाका बिरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनले जानकारी दिए । बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले संक्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने बताए ।

    उनले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिँदै आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुने जस्ता लक्षण देखापर्नेसमेत जनाए । दाहालले बिर्तामोड आँखा अस्पतालमा दैनिक आउने छ सय बिरामीमध्ये तीन सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिए ।

    गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस संक्रमित हुने बताए । विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको उनको भनाइ छ ।

    मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताए । ‘भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उनले जानकारी दिए ।

    मेचीनगर-४ बाहुनडाँगीकी १४ वर्षीया रोशिका तामाङले सुरुमा आँखा बिझाउने र विस्तारै रातो हुने र सुन्निने समस्या देखापरेपछि काँकडभिट्टाको मेची नेत्रालयमा उपचारका लागि गएको बताए ।

    अस्पतालमा उपचार गराएको एक हप्तापछि अलि राम्रो हुन थालेको छ । मोबाइल, कपडालगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग परिवारका सदस्य र साथीहरूमा सजिलै सर्ने चिकित्सक बताउँछन् ।

    काँकडभिट्टा आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बिएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका संक्रमित उपचारका लागि भीड लाग्ने गरेको पाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij