वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले एकताका लागि लुम्बिनी प्रदेशबाट दबाबमूलक अभियान सुरु गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष अलग-अलग भएपछि एमाले अनौपचारिक रुपमा टुक्रिएको भन्दै एमाले सुदृढीकरणका लागि नेतृत्वलाई दबाब दिन अभियान सुरु गरिएको युवा बुद्धिजीवी मञ्चले बताएको छ ।
प्रधानमन्त्रीसमेत रहेका ओली र वरिष्ठ नेता नेपाल पक्षमा विभाजित नेता र सांसदहरुबीच संवाद गरी भएका त्रुटिलाई सच्याएर पार्टी बचाउन मञ्चले अपिल गरेको छ । मञ्चले बुटवलमा ‘एकतावद्ध एमाले र सुदृढ संगठनका लागि अन्तरसंवाद’ कार्यक्रम गरी कार्यकर्ता एकताकै पक्षमा रहेको दाबी गरेका हुन् ।
कार्यक्रममा एमालेका पुराना नेता तथा पूर्वसांसद देवेन्द्रराज घिमिरेले विपक्षी नेताको पुच्छर समाएर नेता हुन खोजेकाहरुले एमालेलाई फुटाउन खोजेको आरोप लगाए । घिमिरेले ०५४ सालमा पार्टी फुट हुँदा कसैलाई फाइदा नभएको स्मरण गर्दै कम्युनिष्ट सिद्धान्त र बहुदलीय जनवाद एमालेले भुलेको जिकिर गरे । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुनकै लागि माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नै पहिलो त्रुटि भएको उनको तर्क छ ।
‘प्रचण्डसँगको सहमति, प्रतिनिधिसभा विघटन र नागरिकता अध्यादेश जारी गरेर अध्यक्ष तथा प्रधानमन्त्रीले मुख्य रुपमा तीनवटा गल्ती गर्नु भएको छ,’ पूर्व सांसद घिमिरेले भने । संविधानसभा सदस्य नेत्र पन्थीले नेपालमा कम्युनिस्ट पार्टीहरुको आचरण र संस्कार बिग्रेको भन्दै एमालेका केही नेताले पनि त्यस्तै खराब आचरण अनुशरण गरेको खुलाए ।
माओवादी केन्द्रसँग एमालेको एकतापछि पार्टी पुरै स्थिर भएको बताउँदै त्यसपछि नै चरम गुटबन्दी मौलाएको पन्थीले बताए । नवौं महाधिवेशनको नेतृत्व र नीतिमा पार्टीलाई फर्काएर एकता कायम गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय अध्यक्ष डा.बालकृष्ण चापागाईंले बुटवलबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताए । महाकाली सन्धी हुँदा पनि गलत भएको भनेको तर पार्टी एकता कायम राख्नुपर्छ भन्ने मान्यतामा अडिक रहेको स्मरण उनले गरे । यस्तै मञ्च बुटवलका अध्यक्ष हरि ज्ञवालीले एमालेको सुदृढीकरणका लागि अभियान सुरु गरेको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij