Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

वीरगन्जमा खानेपानीको हाहाकार, ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

वीरगन्जमा खानेपानीको हाहाकार, ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

  • 193
    SHARES
  • वीरगन्जमा खानेपानीको हाहाकार, ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

    पर्सा । खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो । 

    महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए । बिहान ५ः०० देखि राति ८ः०० बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगरप्रमुख सिंहको भनाइ छ ।

    ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सातवटा वडाको विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ । यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ । 

    खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिनुभयो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगन्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । 

    तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ ।

    यता वीरगन्ज महानगरपालिकाभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०-९० जनासम्म खानेपानीको धारा लिन आउने गरेको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख ई नीरन महर्जनले जानकारी दिए ।

    प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०-१२ घन्टा धारामा पानी पठाउँदै आएको छ । ‘पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले रुचि देखाएनन्’, प्रमुख ई महर्जन भने, ‘तर अहिले चापाकललगायत खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ । धारा लिन आउनेलाई हामीले ग्राहक बनाएर धारा दिइरहेका छौँ’, उनको भनाइ छ ।

    कुल एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगन्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०-६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगन्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख ई महर्जन बताउँछन्।

    वीरगन्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनासमेत अघि बढाएको उनको कथन छ । 

  • सम्बन्धित विषय:

  • # खानेपानी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij