Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार

  • 197
    SHARES
  • कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार

    काठमाडौं । तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

    राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने क्रम बढेको छ । तीमध्ये धेरैले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन तर त्यसको अनुगमन नहुँदा अनुदान सदुपयोग नभएको गुनासो बढ्न थालेको हो ।

    टनेलमा तरकारी खेती गर्नेलाई स्थानीय सरकारले पनि लाखौँ अनुदान दिने गरेको छ । शङ्खरापुर नगरपालिका–४ का डिल्ली मल्ल नगरपालिकाले अनुदान दिएर फलेको तरकारी नगरवासीले भने किनेर पनि खान नपाएको बताउँछन् ।

    नगरपालिकाले लगानी गरेपछि नगरवासीले किनेर भए पनि ताजा तरकारी खान पाउनुपर्नेमा  त्यो तरकारी जोरपाटीभन्दा तल लगेर व्यापार गर्दा नगरपालिकाले किन लगानी गर्ने भन्ने प्रश्न उब्जिएको बताए ।

    यस विषयमा नगरपालिकामा गुनासो राखे पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर, दक्षिणकालीलगायत नगरपालिका क्षेत्रमा पनि टनेलमा गरिने तरकारी खेती फस्टाएको छ ।

    नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सबै कृषि फार्म दर्ता पनि भएका छैनन् । सञ्चालनमा रहेका कृषि फार्मले अनुदान लिने बेलामा मात्र सम्बन्धित स्थानीय तहमा दर्ता गर्ने गरेका छन ।

    दर्ता भएर अनुदान लिएका कृषि फार्मको पनि अनुगमन नहुने गरेको बूढानीलकण्ठ नगरपालिका-११ का शिव भण्डारीले बताए । नगरपालिकामा जुन दलको नगरप्रमुख निर्वाचित हुन्छन्, आफ्नै निकटका कृषि फार्मलाई मात्र अनुदान दिने गरेको उनको गुनासो छ ।

    काठमाडौंका कृषि फार्ममा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहले नै अनुगमन गर्छ भन्ने बुझिन्छ तर स्थानीय सरकारले पनि यसको अनुगमन गर्दैनन् । कागेश्वरी मनोहरा नगरपालिकाका सूचना अधिकारी लिजना खड्का यस पालिकाको कृषि शाखाले भने अनुगमन गर्ने गरेको जिकिर गर्छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij