वेबटिभी खबर
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएको छ ।
विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले छ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए । ‘भवनको गारो र भुई चर्किएर बस्न नमिल्ने अवस्था छ,’ प्रधानाध्यापक उपाध्यायले भने, ‘सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ मा सँगै राखेर पढाएका छौ । अरु भवन पनि भत्कने अवस्थामा छन् ।’
४५ विद्यार्थी रहेको उक्त विद्यालयको जीर्ण भवनमा बसेर पढ्न विद्यार्थीहरु डराएका छन । दुई कोठे शौचालयको गारो चिरा परेर प्रयोग गर्न नमिल्ने भएको छ । विद्यालय भवनको मुनी गत हिउँदमा सडक निर्माण गरिएकाले अहिले सडकबाट पहिरो बग्न थालेको छ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी र प्राविधिकहरुको टोलीले मंगलबार पहिरोको जोखिममा रहेको विद्यालय निरीक्षण गरेका छन ।
उनीहरूले तत्काल थप क्षति हुन नदिन तथा पठनपाठनमा असर पर्न नदिन व्यवस्था मिलाइने र दीर्घकालिन समाधानका लागि पहल गरिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij