Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट संक्रमित

जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट संक्रमित

  • 279
    SHARES
  • जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट संक्रमित

    जुम्ला । जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट संक्रमित भएका छन् ।

    जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी संक्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढाथापाले बताए ।

    कार्यालयबाट यहाँका स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ । बजेटको अभावले सम्बन्धित स्थानीय तहलाई औषधि खरिद गरी उपचार गर्न निर्देशन गरिएको छ ।

    स्थानीय तहमै पशु प्राविधिक खटाएको कार्यालय प्रमुख बुढाथापाको भनाइ छ । उक्त रोगबाट मरेका पशुको संख्या र विवरण पठाउन भनी जिल्लाका स्थानीय तहलाई पत्रचार गरिएको छ ।

    यकिन तथ्यांक आउन केही साता लाग्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रमुख बुढ्थापाले जानकारी दिए ।

    पाँच सय पशुलाई खोप

    जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशु सेवा कार्यालयले जनाएको छ ।

    खोप खरिद गरी पालिकामा कार्यरत पशु प्राविधिकबाट तिलाका नौवटै वडाका स्थानीयवासीको पशुलाई खोप लगाएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए ।

    पालिकाको सबैभन्दा बढी वडा नं २ का पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । उक्त वडाका ४० वटा गाईगोरु मरेको जानकारी आएको उपाध्यक्ष बुढाको भनाइ छ ।

    वडा नं १ मा पनि व्यापकरूपमा रोग फैलिएको स्थानीयवासी नरबहादुर रावतले जानकारी दिए । अहिलेसम्म तीन हजार गाईभैँसीलाई औषधि वितरण गरिएको तिला गाउँपालिकाको पशु सेवा कार्यालयले जनाएको छ ।

    रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, लम्पी स्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

    गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ ।

    यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिंगालगायतको टोकाइबाट लाग्ने गर्दछ ।  संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दानापानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij