वेबटिभी खबर
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका १ हजार ९९५ व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका १ हजार ९९५ व्यक्तिलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १ हजार ९९५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए ।
पक्राउ परेकालाई अदालतले एकसय ७६ वर्ष सात महिना ३० दिन कैद असुल गरेको छ । अदालतले पक्राउ परेका उनीहरुसँग १२ करोड ८७ लाख ९३ हजार एक सय ३८ जरिवना असुल गरेको प्रवक्ता रिजालले बताए ।
यस्तै विभिन्न मितिमा अदालतबाट कैद र जरिवना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको काठमाडौं प्रहरीले जनाएको छ ।
आव २०७९/८० मा काठमाडौं प्रहरीमा मोबाइल हराएका १८ हजार एक सय १२ निवेदन परेको छ । जसमध्ये ११ हजार एक सय ४६ चोरी, पाँच हजार आठ सय २५ हराएको र एक हजार एक सय ४३ पाकेटमारी भएका छन् ।
हराएका मोबाइलमध्ये एक हजार ६ सय ५० मोबाइल फेला परेको प्रवक्ता रिजालले बताए । काठमाडौं प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ निवेदन दर्ता भएका छन् ।
दर्ता भएका निवेदनमध्ये सवारीसम्बन्धी एक सय १६, रकम ठगी नौ सय ९७, वैदेशिक रोजगारी ठगी पाँच सय ४०, जग्गासम्बन्धी विवाद ४०, झैझगडा कुटपिट ६३ उजुरी परेका छन् ।
यसैगरी, घरेलु हिंसा १५, सहकारीसम्बन्धी ठगी ५०, अनलाइन ठगी ४०, चेकसम्बन्धी ठगी दुई सय ७६, सरसामान चोरी २१ र मोटरसाइकल चोरीका तीन निवेदन परेको छ ।
जम्मा परेका निवेदनमध्ये छ सय २१ उजुरी फस्यौट भएको र बाँकी एक हजार चार सय ९५ उजुरी फछ्र्योट गर्न बाँकी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij